परिचय (introduction)
लुम्बिनी प्राविधिक विश्वविद्यालय, नेपालका अरु ६ वटा प्रादेशिक विश्वविद्यालय भए जस्तै लुम्बिनी प्रदेश सरकारबाट सञ्चालित सरकारी विश्वविद्यालय हो। यसमा प्रशासनिक, साङ्गठनिक र शैक्षिक गरी तीन तहबाट काम भइरहेको हुन्छ। पहिलो- प्रशासनबाट कार्यकारी परिषदले निर्णय गरेका विषयहरूको काम गरिरहेको हुन्छ भने दोस्रो- साङ्गठनिक रूपमा एउटा रुखका विभिन्न हाँगाबिँगा भए जस्तै पदाधिकारी, कर्मचारी र शिक्षकहरूबाट पदीय दायित्व तथा जिम्मेवारीमा रहेका काम भइरहेका हुन्छन् । यी सबैको मुख्य ध्येय भने गुणस्तरीय शिक्षा प्रदान गरी देशका लागि असल तथा सक्षम नागरिकहरूको उत्पादन गर्नु हो । तेस्रो- संरचनागत रूपमा विश्वविद्यालयमा एउटा स्वतन्त्र र निष्पक्ष सेवा आयोग गठन गरिएको हुन्छ , जसले विश्वविद्यालयमा स्वीकृत दरबन्दीका आधारमा दक्ष जनशक्तिका रूपमा रहने आवश्यक शिक्षक तथा कर्मचारीको स्थायी पदपूर्ति गर्दछ।
राज्यको आधिकारिक नियुक्ति प्राप्त उच्च अधिकृत Commissioned Officers (कमिसन्ड अफिसर्स ) सरकार वा संस्थाले औपचारिक रूपमा नियुक्त गरेका उच्चतहका अधिकारीहरू नै सेवा आयोगका उच्चअधिकृत हुन् । सेवा आयोगमा मुख्यतः अध्यक्ष, सदस्य र सदस्य सचिव गरी तीन जना पदाधिकारी तथा केही कर्मचारी रहने व्यवस्था रहेको छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय र सेवा आयोग भनेको के हो ?
नेपालमा करिब दुई दर्जन जति विश्वविद्यालय छन्। ती मध्ये धेरै सङ्घीय विश्वविद्यालय छन् भने प्रदेश विश्वविद्यालयमा हालसम्म ६ वटा स्थापित भइसकेका छन् ।गण्डकी विश्वविद्यालय तनहुँ (२०७६), मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ (२०७६), लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँके (२०७९), मधेश विश्वविद्यालय पर्सा (२०७९), मधेश कृषि विश्वविद्यालय सप्तरी (२०७९), र बागमती विश्वविद्यालय मकवानपुर (२०८१), हेटौंडा रहेका छन् । ती मध्ये लुम्बिनी प्राविधिक विश्वविद्यालयको विधानको परिच्छेद-३ मा विश्वविद्यालयको सङ्गठन, संरचना र सेवा आयोगको उल्लेख छ। त्यही विधानको परिच्छेद-४ को दफा १५ मा विश्वविद्यालय सेवा आयोग गठनको कुरा उल्लिखित छ।विधानमा उल्लेख भए अनुसार प्रदेश सरकारले एउटा निष्पक्ष र स्वतन्त्र विश्वविद्यालय सेवा आयोगको गठन गर्नेछ भनी अध्यक्ष र सदस्यहरूको तीन सदस्यीय व्यवस्था गरेको छ। अध्यक्षमा पदेन लुम्बिनी प्रदेश लोकसेवा आयोगको अध्यक्ष, सदस्यमा विज्ञहरू मध्येबाट सभाले नियुक्त गरेका एक जना मनोनीत सदस्य र सामाजिक मन्त्रालयको सचिव, सदस्य सचिवमा रहने प्रावधान छ । सोही अनुसार लुम्बिनी प्राविधिक विश्वविद्यालयको सेवा आयोग सङ्गगठित छ।
सेवा आयोगका मनोनीत सदस्यको नियुक्ति भएपछि मात्र लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगले आफ्नो लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोग (कार्यसञ्चालन) निर्देशिका २०८१ बनाई सभाबाट स्वीकृत गराएको छ। त्यस्तै लु.प्रा.वि. सेवा आयोग आन्तरिक कार्यविधि २०८२ निर्माण गरी सहमतिका लागि मन्त्रालयमा पठाएको स्थिति छ। शून्यको अवस्थाबाट सुरु भएको सेवा आयोगको काम क्रमशः अगाडि बढिरहेको छ। अब मानव संसाधनको आपूर्तिका लागि विज्ञ जनशक्तिको सूची (रोस्टर) तयार गरी आवश्यक पर्ने विभिन्न पद र तहको पाठ्यक्रम निर्माण गर्ने कार्य आवश्यक हुने हुँदा त्यस दिशातिर सेवा आयोग अगाडि बढिरहेको छ। त्यसैले स्वीकृत स्थायी दरबन्दी प्राप्त हुनासाथ क्रमशः विज्ञापन खोल्ने अवस्थामा रहेको छ ।करिब ७०% प्रतिशत निजामतीको संलग्नता रहेको लु.प्रा.वि. सेवा आयोगको गठन अन्य विश्वविद्यालयको भन्दा एक तह माथि उठेर फरक तरिकाले गरिएको हुँदा कार्यसम्पादन गर्नमा जटिलता देखिएको छ । विज्ञापन गर्दा तीनजना सेवा आयोगसँग सम्बद्ध व्यक्तिहरू सन्निकट रहनु पर्ने र कार्यसम्पादन गर्नु पर्ने अवस्था रहेको हुन्छ।
अध्यक्षको कार्यालय बुटवल, सदस्य सचिवको राप्ती उपत्यका देउखुरी र मनोनीत सदस्य बाँके रहने हुनाले भौगोलिक दूरीका कारण प्रत्यक्ष भेटघाट तथा छलफलद्वारा अगाडि बढाउने गोप्यकार्य गर्न निकै जटिलता, चुनौती र कठिनाइको स्थिति रहेको देखिन्छ। त्यसका लागि सेवा आयोगको अस्थायी सम्पर्क कार्यालय बुटवल वा देउखुरीमा रहनु पर्ने र स्थायी दरबन्दी स्वीकृत गराई सेवा आयोग खोल्नु अहिलेको आवश्यकता रहेको छ ।