लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू तथा अर्थमन्त्रीज्यूसँग लुम्बिनी प्राविधिक विश्वविद्यालयका पदाधिकारीहरू प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा भेटघाट कार्यक्रममा सहभागी

01 May 2024 Admin
लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू तथा अर्थमन्त्रीज्यूसँग लुम्बिनी प्राविधिक विश्वविद्यालयका पदाधिकारीहरू प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा भेटघाट कार्यक्रममा सहभागी

लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री जोखबहादुर महराज्यू र माननीय अर्थमन्त्री चेतनारायण आचार्यज्यूसँग राप्ती उपत्यकामा लुम्बिनी प्राविधिक विश्वविद्यालयका पदाधिकारीहरूको भेटघाट कार्यक्रम सम्पन्न भयो।

भेटघाटको अवसरमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव श्री रेगबहादुर भण्डारीज्यूले विश्वविद्यालयका हालसम्म भएका गतिविधिहरूको प्रगति विवरण तथा विश्वविद्यालयको उद्देश्यका बारेमा जानकारी गराउनुभयो।

उक्त अवसरमा सेवा आयोगका विज्ञ सदस्य प्रा. डा. कृष्णप्रसाद घिमिरेज्यूले लुम्बिनी प्राविधिक विश्वविद्यालयमा शिक्षक तथा कर्मचारीका स्थायी दरबन्दी प्रदान गर्नका लागि अनुरोध गर्नुभयो। त्यस कुरालाई उपकुलपति तथा कुलसचिवज्यूले पनि विशेष आग्रह गर्नुभयो। त्यसै क्रममा इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. कीर्तिकुसुम जोशीज्यूले विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रम र आगामी वर्षमा सञ्चालन हुने शैक्षिक कार्यक्रमको बारेमा विस्तृत जानकारी गराउनुभयो। 

भेटघाट कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालज्यूले विश्वविद्यालयको नीति तथा कार्यक्रमको बारेमा जानकारी दिनुभयो।

माननीय मुख्यमन्त्री महराज्यूले विश्वविद्यालयको योजना र कार्यक्रमहरूमा प्रदेश सरकारको समर्थन रहने आश्वासन दिनुभयो। त्यसै सन्दर्भमा विश्वविद्यालयलाई शैक्षिक गुणस्तर बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढाउने कार्यमा लाग्न उत्प्रेरित गर्नुभयो।

अर्थमन्त्रीज्यूले, सङ्घसँग भएका गतिविधिको जानकारी गराउँदै लुम्बिनी प्रदेश सरकारले विश्वविद्यालयको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटघाट कार्यक्रममा विश्वविद्यालयको शैक्षिक तथा अनुसन्धान क्षेत्रमा गरिमामय योजनाहरू बनाएर भविष्यमा आयोजना गर्ने विषयमा पनि छलफल भएको थियो।

Related News