माननीय मुख्यमन्त्रीज्यूबाट लुम्बिनी प्राविधिक विश्वविद्यालयको अवलोकन

10 Jul 2025 Admin
माननीय मुख्यमन्त्रीज्यूबाट लुम्बिनी प्राविधिक विश्वविद्यालयको अवलोकन

मिति २०८२/०३/२६ गते बिहिबार लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी), दाङका प्रमुख एवम् लुम्बिनी प्राविधिक विश्वविद्यालय, नेपालगन्ज, बाँकेका कुलपति श्री चेतनारायण आचार्यज्यूले लुम्बिनी प्राविधिक विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान भवनको अवलोकन भ्रमण गर्नुभएको छ। उक्त अवलोकन कार्यक्रममा यस विश्वविद्यालयका निवर्तमान सहकुलपति एवम् प्रदेश सभा सदस्य माननीय रत्न बहादुर खत्रीज्यूको पनि गरिमामय उपस्थिति रहेको थियो।

यस भ्रमणका क्रममा मुख्यमन्त्रीज्यूले नेपालगन्जको धम्बोझीमा आवस्थित कृषि विकास बैंकको लिजमा लिएको भवनमा इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गत सञ्चालित शैक्षिक कार्यहरूको अवलोकन गर्नुभयो। यद्यपि यो अस्थायी संरचना भए पनि, उहाँले सोही भवनभित्र अत्यन्त सुझबुझ र योजनाबद्ध ढंगले स्थापना गरिएका इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका शैक्षिक क्रियाकलापहरूको प्रत्यक्ष जानकारी लिनुभयो।

विशेष गरी, कुलपतिज्यूले विश्वविद्यालयले उपलब्ध सीमित क्षेत्रमै तयार पारेका प्रयोगशालाहरू (Labs), भौतिक प्रयोगशाला, रसायन प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, सिभिल इन्जिनियरिङ, र मेकानिकल प्रयोगशाला लगायतका विभिन्न विषयगत प्रयोगशालाहरूको निरीक्षण गर्नुभयो। यी प्रयोगशालाहरूमा राखिएका उपकरण, सामग्री र विद्यार्थीहरूको लागि तयार पारिएको सिकाइ वातावरण प्रति विशेष चासो राख्नुभयो। यसका साथै, विद्यार्थीहरूको अध्ययनका लागि आवश्यक पुस्तकालय र शैक्षिक गतिविधि सञ्चालन भइरहेका कक्षाकोठाहरूको पनि उहाँले अवलोकन गर्नुभयो, जहाँ विद्यार्थीहरूले सक्रिय रूपमा अध्ययन गरिरहेका थिए।

अवलोकनका क्रममा मुख्यमन्त्रीज्यूले विद्यार्थीहरूसँग प्रत्यक्ष छलफलग गरी उनीहरूको पठनपाठन र अनुभवबारे संक्षिप्त जानकारी लिनुभयो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिनको कार्यकक्षमा मुख्यमन्त्रीज्यूलाई स्वागत गरिनुका साथै नवनियुक्त पदाधिकारी डिन, डा. निरज के.सी., निर्देशक, अनुसन्धान बाह्य सम्बन्ध तथा ज्ञान प्रचार केन्द्र, डा. प्रदिप कर्ण,  परीक्षा नियन्त्रक श्री जेन्टिल गौतम तथा कर्मचारीहरूसँग परिचयात्मक र अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। यस भेटमा उहाँले विश्वविद्यालयको पठनपाठन सम्बन्धी जानकारी, विद्यार्थीका हालका संख्या लगायतका विषयमा जानकारी लिनुभयो। साथै, विश्वविद्यालयको दीर्घकालीन विकासका लागि जग्गा प्राप्तिका विषयमा आवश्यक रणनीतिका लागि मुख्यमन्त्रीज्यू र पदाधिकारी विच छलफल भयो।

विश्वविद्यालयले अस्थायी संरचना र सीमित भौतिक पूर्वाधारका बाबजुद अत्यन्त छोटो समयमै प्राविधिक शिक्षाको क्षेत्रमा गरेको उल्लेखनीय प्रगति प्रति माननीय मुख्यमन्त्री आचार्यज्यूले सन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयको परिकल्पनादेखि वर्तमान सञ्चालनसम्म पुर्याउन भूमिका खेल्ने सम्पूर्ण प्राध्यापक, कर्मचारी र व्यवस्थापन पक्षको लगनशीलता, दूरदर्शिता तथा शैक्षिक उन्नयनका लागि गरिएका प्रयासहरूको उच्च प्रशंसा गर्नुभयो। उहाँले यति कम समयमा यति धेरै विषय र प्रयोगशालाहरू सहितको संरचना तयार पार्नु आफैंमा एउटा ठूलो उपलब्धि भएको धारणा व्यक्त गर्नुभयो।

माननीय मुख्यमन्त्रीज्यूको यस उच्चस्तरीय अवलोकनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र प्राविधिक शिक्षाको उन्नयनका लागि प्रदेश सरकारको प्रतिबद्धताले विश्वविद्यालयको भावी स्थायी संरचना निर्माण र शैक्षिक कार्यक्रम विस्तारका लागि आवश्यक सहयोग पुर्याउन थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको कुरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालज्यूले ब्यक्त गर्नुभयो। यो भ्रमण विश्वविद्यालयको समग्र विकास यात्रामा एक महत्वपूर्ण कोसेढुंगा हुनेछ भन्ने कुरा विश्वविद्यालय परिवारले लिएको छ। अन्त्यमा, यस विश्वविद्यालयका कुलपतिज्यूले विविध विषयवस्तुमा आवश्यक निर्देशन गर्नुभयो।

Related News